Skip to main content

Posts

Showing posts from January, 2021

कृष्ण सेन 'इच्छुक' का केहि कविता

कृष्ण सेन 'इच्छुक' १) कान्छी, भट्टी र देश  अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो र, अलिकति गरिब माइतीको पुरानो दाइजोले मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई विवशताका भोका थाली र कचौराहरूमा पस्केर सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ कान्छी भट्टी थापिरहिछ यात्रीहरू आइरहेछन् र गइरहेछन् परदेशीहरू गइरहेछन् र आइरहेछन् कोही उसको रूपको नशा पिइरहेछन् कोही उसको जीवनको दुर्दशा पिइरहेछन् विदीर्ण मन अनि जीर्ण तनलाई जोरेर छटपटीको तातो भुंग्रोभित्र खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै दिनरात क्लेश काटिरहिछ कान्छी भट्टी थापिरहिछ भट्टीमा भात पाकिरहेछ भात सँगसँगै कान्छीको लाज पाकिरहेछ भट्टीमा मासु पाकिरहेछ मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ भट्टीमा रक्सी बिकिरहेछ रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ नेपाली छोरी ऊ हिमालकी गोरी ऊ विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ गहबाट बहका नदीहरू झारिरहिछ कान्छी भट्टी थापिरहिछ। उसका आँशुहरू मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू ह

हरिभक्त कटवालका केहि कविता

हरिभक्त कटवाल १) यो जिन्दगी खै के जिन्दगी !  भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी ! पसलमा शोकेशभित्र सजाएर राखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी ! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी ! बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी ! यो जिन्दगी खै के जिन्दगी !! २) मन त फलामकै भए असल हुन्छ  मन त फलामकै भए असल हुन्छ न घात–प्रतिघातमा रुन्छ, न सयपत्री र बाबरीले बाटो थुन्छ मन त फलामकै भए असल हुन्छ कसैले चिमोट्यो एक कप्टेरो त्यतै टाँसियो, कसैले एउटा मुस्कान फ्याँक्यो उसैको पछ्यौरीमा गाँसियो; जहिले पनि जलेकै छ, जता पनि ढलेकै छ, मनको बह कसैसित नकह कसले बुझ्छ, कसले सुन्छ ? मन त फलामकै भए असल हुन्छ । वसन्तमा वन फुल्यो— मन उतै भुल्यो, बैँसले जाऊँ है भन्न लाग्यो— पीर झन् ठूलो; आकाश देख्यो आकाश ज

रिमालका केहि कविता

गोपाल प्रसाद रिमाल  १) एक दिन एक चोटि  एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्कीफर्की आउँछन् सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन् मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन् खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ एक जुगमा एक दिन एकचोटि आउँछ! २ ) जङ्गि निशान हाम्रो  रातो र चन्द्रसुर्जे, जङ्गी निशान हाम्रो। जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।। हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै। लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो।। यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए। साम्राज्य दुई हारे, हारेन सान हाम्रो।। जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्। तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।। गाईसरि छन् साधु जोजो यहाँ जगत्‌मा। सबको सरन बलियो, जङ्गी निशान हाम्रो।। ३ ) तिमी को ? यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ! त्यो उदाङ्ग पार्न खोज्ने तिमी को? यहाँ हामीलाई यो अलमल नै प्रिय छ, यो धरमर न

विजय मल्लका केहि कविता

विजय मल्ल  १) कतिले आत्महत्या गरिसक्थे! कतिले आत्महत्या गरिसक्थे ! बगर-बगरमा, गल्ली-गल्लीमा, रानीपोखरीको नील जलमा, हरेक देखिने दलिनहरूमा कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे! कतिले आत्महत्या गरिसक्थे! दुःखले पोलेको मुटु लिएर पीडाले सढेको शरीर लिएर अन्यायको तातो झीरले डामेको अन्धो आँखा लिएर कतिले नमर्दै आफूलाई मारिसक्थे! कतिले आत्महत्या गरिसक्थे! जिउनु छ भनेर नै कोही जिउँदैनन् यहाँ, मृत्युसँग तर्सेर नै कोही बाँच्दैनन् यहाँ । यहाँ कतै-कतै पाइन्छ- आँसुलाई पुछिदिने, स्नेहको मीठो स्वरले टुटेको दिललाई साँचिदिने मायालु मुलायम हात, मायालु मुलायम आँखा । त्यसैले पो- नत्र त यो दुनियाँ मसान भइसक्थ्यो, टुटेको दिलको, फुटेको मुटुको, कसिङ्गरैकसिङ्गरको, करङैकरङको थुप्रोझैँ । नत्र त यो दुनियाँ मसान भइसक्थ्यो! मसान भइसक्थ्यो! उफ्! कतिले आत्महत्या गरिसक्थे! २) छोरीलाई मानचित्र पढाउदा  रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हरे, हरेक राष्ट्रका फाँटमा! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान्! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान । अणुबमले खाएको, हे

भूपिका केहि ‌कविता

भूपि‌ शेरचन  १) सर्पकोे खोजीमा काठमाडौँ अझ भनौँ यो सिङ्गै देश नै दिन पर दिन कालो–नीलो हुँदै गैरहेको छ सर्पदंशित मान्छेझैँ म सर्पको खोजीमा छु हो, म ती विषालु सर्पहरूको खोजीमा धेरै अघिदेखि हिँडिरेहछु असन पसेर जसले नुन–चामलका बोरा र तेलका टिनलाई डसे बजार घुमेर मोटा कपडा र इँटा सिमेन्ट–सिमेन्ट–छड र कर्कटपातालाई डसे स्लाइनको नली भएर थुपै्र बिरामीलाई बालबालिकाका दूधका डब्बालाई डसे विद्यालय पसेर देशका भविष्यलाई डसे हाकिमको कलमको निब भएर असंख्य कर्मचारीलाई डसे मलाई खोजी छ हो, मलाई खोजी छ ती काला विषालु सर्पहरूको एक युग वित्यो म हातमा लौरो बोकी गल्ली गल्ली चोक चोक वन जङ्गल र बाटाघाटामा ती सर्पको खोजीमा हिँडेको तर सर्पका साटामा मैले बरु गल्ली, चोक, वन, जङगल र बाटाघाटाहरू पो दंशित पाएँ अब म बढी सतर्कताको साथ खोज्दैछु पछ्याउँदैछु ती छदमभेषी सर्प जसले सभ्य रूपमा सभ्यतालाई र पुजारी भई देवतालाई डसे मलाई खोजी छ जसले भिडियो भित्र पसी नीला सर्प भई हाम्रो संस्कृतिलाई डसे नदेखिएका पनि होइनन् ती अँध्यारामा तर तर मेरो प्रहारभन्दा अघि दुलोभित्र पस्थे तिनलाई पनि नभत्काएको होइन मैल तर मैले पछ्याउँद

पारिजातका केहि कविता

पारिजात १) मृत्यु  धेरै अघि एक साँझ चराहरु निन्याउरा भएर हाँगातिर बसिरहेको बेला घरका समस्याहरुले पिल्सिएर आफै पनि झोक्रिएर बसिरहेको बेला मलाई एउटा कविता लेख्न मन लागेको थियो मृत्यु अभिशाप हो मृत्यु विसंगति हो मृत्यु जीवनको अन्त हो भनेर। मृत्युको कुरालाई धर्म ग्रन्थहरुबाट जस्ताको तस्तै ग्रहण गरेकी छु मैले तथापि मसँग मृत्युको केही आलो व्यथा छ जीवनको विकराल दुःखहरुबाट तर्सेर एकपल्ट मैले मृत्युको पछ्यौरामा मु लुकाउने दष्प्रयास गरेकि छु तथापि मसँग मृत्युको केहि साक्षात कथा छ । मट्मास दिएर नून साट्न आएकी साँघुरो भिरालो बाटोमा पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडिरहेकी एउटी गरिब आमाको थुन्सेबाट आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा फुत्केर कालीको बौलाहा छालमा खस्यो उसको मृतयु भयो ज्वरोको धङधङीमै ठालुले जोताको एउटा निर्धो तन्नेरी रुखको हाँगा काट्दा काट्दै असंतुलित भएर भूईंमा खस्यो उसको मृत्यु भयो रक्सी खाएर रङ साइडतिर हाँकिरहेको महानगरको एउटा सफेद पोशले एउटा झुम्रे रिक्सावाललाई हाकाहाकी चेप्ट्याएर मार्यो उसको मृत्यु भयो अझ थुप्रै सामूहिक मृत्युहरु भए खान नपाउनेहरुको अधिकार खोज्नेहरुको