Skip to main content

पारिजातका केहि कविता

पारिजात



१) मृत्यु 

धेरै अघि एक साँझ
चराहरु निन्याउरा भएर हाँगातिर
बसिरहेको बेला
घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन लागेको थियो
मृत्यु अभिशाप हो
मृत्यु विसंगति हो
मृत्यु जीवनको अन्त हो भनेर।
मृत्युको कुरालाई धर्म ग्रन्थहरुबाट
जस्ताको तस्तै ग्रहण गरेकी छु मैले
तथापि मसँग मृत्युको केही आलो व्यथा छ
जीवनको विकराल दुःखहरुबाट तर्सेर
एकपल्ट मैले मृत्युको पछ्यौरामा
मु लुकाउने दष्प्रयास गरेकि छु
तथापि मसँग मृत्युको केहि साक्षात कथा छ ।
मट्मास दिएर नून साट्न आएकी
साँघुरो भिरालो बाटोमा
पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडिरहेकी
एउटी गरिब आमाको थुन्सेबाट
आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा
फुत्केर कालीको बौलाहा छालमा खस्यो
उसको मृतयु भयो
ज्वरोको धङधङीमै ठालुले जोताको
एउटा निर्धो तन्नेरी
रुखको हाँगा काट्दा काट्दै
असंतुलित भएर भूईंमा खस्यो
उसको मृत्यु भयो
रक्सी खाएर रङ साइडतिर हाँकिरहेको
महानगरको एउटा सफेद पोशले
एउटा झुम्रे रिक्सावाललाई
हाकाहाकी चेप्ट्याएर मार्यो
उसको मृत्यु भयो
अझ थुप्रै सामूहिक मृत्युहरु भए
खान नपाउनेहरुको
अधिकार खोज्नेहरुको
दुई पाइलो जग्गा माग्नेहरुको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि एएटा कविता लेख्न मन लागेको छ
मृत्यु विसंगति होइन
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित
भीडहरुबीच हिँड्दो रहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मानसमा सम्झना भएर
अन्यायमा परेर मेरका मृत्युहरु
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै पुषकार गरी हिँड्दा रहेछन्
मृत्यु त संगठन भएर
अंगालोतिर बाँधिइदा रहेछन्
नारा भएर भित्ताहरुतिर लिपिदा रहेछन्
पर्चा भएर हातभरि छरिइदा रहेछन्
कहाँ मर्दा रहेछन् र
भोका किसान जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरु
उनीहरुका मृत्यु त
संघर्ष गर्न तमतयार आएको
विशाल विशाल जुलुसमा हिँड्ने संघर्षकारीहरुको
पाखुरी पाखुरीमा
मु्ठ्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन्
मृत्यु त संगीन भएर
वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन्
बन्दूक भएर पड्किदा रहेछन् ।


२) आन्दोलन 

चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।
मण्डप भित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई ?
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुण्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस गर्न पर्छ यस्तो सोच्नलाई
मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन
आकाश भरी पहिले बाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र
काँक्रा र फर्सीका बिऊ जस्तो
पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।
होस गर्न पर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।


३) मानुषी 

तिमी जति गर्न सक्छौ
त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त मभन्दा कोसौं अघि गइसकेछौ ।
तिमी र म एउटै होइनौं
एक–अर्काका पूरक मात्र हौं
त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौ
म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
तिमीलाई त यसो कहिल्यै भएन,
तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन
हो, म तिमीबिना आमा बन्न सक्तिनँ
तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
त्यो मेरो, नितान्त… मेरो अनुभूति हो
तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?
तिमी निरूत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारूढ तिमी
शताब्दी–शताब्दीअघि
झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई
माया र सह–अस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी
दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रूवाउँदै भित्र्याउने गर्छौ ।
त्यसैले तिमी यति विमुख न हौ
यति निर्दयी नबन,
यति बैगुनी न हौ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरू साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एक–अर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ ।


४) जूठी दमिनीको अभिव्यक्ति

जदौ हजूर
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी,
आमाको एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती ।
तर कर्मको खोटी अलच्छिन् मोरी
बाह्र वर्ष नपुग्दै पोली खाएँ
बा आमा
असारको पैह्राले किचेर
एक चिहान परे कठै
हाट भरेर फर्केकाहरू ।
कहाँ जाने अभागिनी
आँखोको सोझी
मावल हुत्तिएकी
सौतेनी माइज्यूछोरीको रूपमा
यो त डङ्किनी रहिछ
आमा बाबु ज्यूँदै खाई भन्दैभुत्लाउने गर्थी ।
हजूर मालिक,
मेरो बिहे नभएको होइन
ढाँटेर के हुन्छरु
सौतेनी माइज्यूले उसैको भाइको सौता हाली दिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न गएकी,
मालिक हजूर,
कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनम
मुखिनीले न्वारान गरिदिई
जुठी,
जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।
पुर्परोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन
हाम्लाई यस्तो
माया पिरती क्यै थाहा छैन हजूर
आइमाईको जातले छोरा छोरी पाउनु कुन महाभारत
भयो त ।
टालाटुली बटुली
आफै सिलाकी यो चोली
जुम्रा पर्छ
घरिघरि केलाउन पस्न पर्छ कुनाकुनी,
लाज शरम एउटै हो हजूर
आइमाई जातको
रूझ्नु, भिज्नु, चिसिइनु, खट्नु
सुख्खा खोकी लाग्छ
ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन
बाँच्ने मन छैन मालिक,
साह्रै नै बाँझो भएको छ
ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्, जोती दिनुस् क्यार
जदौ हजूर
बिउ छर्न लायक बनाई दिनुस् क्यार।
जदौ हजूर
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी,
आमाको एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती ।
तर कर्मको खोटी अलच्छिन् मोरी
बाह्र वर्ष नपुग्दै पोली खाएँ
बा आमा
असारको पैह्राले किचेर
एक चिहान परे कठै
हाट भरेर फर्केकाहरू ।
कहाँ जाने अभागिनी
आँखोको सोझी
मावल हुत्तिएकी
सौतेनी माइज्यूछोरीको रूपमा
यो त डङ्किनी रहिछ
आमा बाबु ज्यूँदै खाई भन्दैभुत्लाउने गर्थी ।
हजूर मालिक,
मेरो बिहे नभएको होइन
ढाँटेर के हुन्छरु
सौतेनी माइज्यूले उसैको भाइको सौता हाली दिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न गएकी,
मालिक हजूर,
कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनम
मुखिनीले न्वारान गरिदिई
जुठी,
जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।
पुर्परोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन
हाम्लाई यस्तो
माया पिरती क्यै थाहा छैन हजूर
आइमाईको जातले छोरा छोरी पाउनु कुन महाभारत
भयो त ।
टालाटुली बटुली
आफै सिलाकी यो चोली
जुम्रा पर्छ
घरिघरि केलाउन पस्न पर्छ कुनाकुनी,
लाज शरम एउटै हो हजूर
आइमाई जातको
रूझ्नु,भिज्नु,चिसिइनु,खट्नु
सुख्खा खोकी लाग्छ
ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन
बाँच्ने मन छैन मालिक,
साह्रै नै बाँझो भएको छ
ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्,जोती दिनुस् क्यार
जदौ हजूर
बिउ छर्न लायक बनाई दिनुस् क्यार।



५) एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता !

ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको?
त्यो त हजुर आएको, गएकै थाहा छैन।
खै, जान्ने सुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको ऊ त्यो
गहुँबारीमा सप्रियसक्यो रे!
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे!
खै, कुन्नि कस्तो अनौठो
मेरो आँखा र ओठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे!
के भन्नुभयो, निकै हिस्सी परेकी छु रे?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यस्तै त्यस्तै लागेको थियो
तर के भरपर्दो हुन्छ र
पानीमुनिको छायाँ।
ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै!
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो अधबैंसे दुल्हा
आरन जस्तै अँध्यारो र
खलाँती जस्तै धुस्त्रो थियो
ए, हाँस्नुभएको हजुर त!
यसको गोडा पखालको पानी खानू साँझ बिहान
यो तेरो देउता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाउँ
गालामा आँसुको डोब बस्दैन हजूर
पहरामा खहरेको डोब बसेजस्तो।
ज्यू, माइत त सात खोला सात डाँडा उता छ
मैले बालखकालमा देखेकी सपना जस्तै
मेरो मुटुभित्रै भएर पनि कति कति टाढा।
जै–जन्म सोध्नुभएको?
ज्यू इनै दुई छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेको भए यो आगो हातैमा छ हजूर।
यो च्याँसे
मुखियाको घर बनाउने ढुंगा बोक्दा–बोक्दै पाएकी
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल–नाल काटेँ
फेरि मुखियाको धान गोड्दा गोड्दै हिलोमै जन्मियो यो पुन्टे
हिलोमा जन्मिनेहरुलाई
कहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा?
ज्यू, हुर्काउँदैछु हजूर हुर्काउँदैछु
नाङ्गै–भुतुङ्गै
जनावरहरु जस्तै
कुकुर र सुँगुरका बच्चाहरु जस्तै।
ज्यू, माया लाग्छ यै बूढा कामीको
गरिबीभन्दा अर्को छनौट नै के छ र जीवनमा?
म पनि त चायाँ र कलेटीले
तर्साउने जस्तै भइसकेँ
के म स्वास्नीमान्छे जस्ती छु र?
ल फेरि हाँस्नुभयो हजूर त!
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रङ र फलामको रङ
एउटै छ हजूर!
च्याँसे–पुन्टेको छालाको रङ र बाटोको धुलोको रङ
एउटा छ,
म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ
र मेरो आँसुको रङ
एउटै छ हजूर!
ज्यू, ज्यू काम गर्नेहरुले खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु हजुर !


६) आधार 

प्रिये ! आज बिदाको दिन हो
के मलाई हेरिदिन्नौ?
ती सागर नयनहरुले
जसका प्रदर्शन पहिल्याइ
मलाई जीवनको किनारा पुग्नु छ।

प्रिये ! आज आत्मसमर्पणको दिन हो के
मलाई पहिराइदिन्नौ?
अश्रुबूँदहरूको माला
जसको पत्र-पत्रको सुगन्धमा
आफैँलाई समावेश गर्नुछ ।

प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नौ?
सम्झनाको त्यो झिनो धागो
जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ ।

प्रिये !आज विदाको दिन हो ।



७) गीत त धुनहरु 

तिमी मलाई सारङ्गीका केही धुनहरू देऊ-
म तिमीलाई एउटा विवश गरीबको व्यथा भन्छु ।

म तिमीलाई एउटा छाप्रो जलेको रहस्य भन्छु
तिमी दुःखद जीवनहरूलाई धूनमा फेर
म तिम्रो सारङ्गीसँग एउटा गीत साट्छु ।

दुःखहरूको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रुन्छौ म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो जो डढेलामा फेरिन सक्छ ।

तिमी मलाई अब यी दुःखहरूको सिङ्गो धून देऊ
म यी दुःखहरूलाई आजका सिङ्गा गीतहरूमा फेर्छु
म यी गीतहरूलाई प्रतिशोधका रापहरूमा फेर्छु ।

तिमी मलाई केवल मन पगाल्ने धून देऊ
म तिमीलाई इतिहास फेर्ने गीत दिन्छु
तिमी मलाई आफ्नो सारङ्गीका केही धुनहरू देऊ
म गीतहरूलाई परिवर्तनको इतिहासमा फेर्छु


८) जूनी काट्नु एउटा बाजी 

धमीरा लागेको धर्तीमाथि उभिएर
माटोको माया
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्याक्त गरुँ?
मैले जमीन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जव रमाईलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सेछु
मान्यता दिन बिर्सेछु
म बाजीलाई अर्थ दिन बिर्सेछु
मान्यता दिन बिर्सेछु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।


) म र मेरो अतित 

जेठका साँझ हुत्याएको
सुरिलो बाँस झैं
म अतीतलाई म्वाई खान जान्छु ।
 
घामले डढेर
पट्पटी फुटेको जमीनमा
म र मेरो अतीतको एउटा चिनाजानी छ
विना कुनै वर्तमान र भविष्यका आधारमा
म थाहा पाउँछु मेरो अतीत
फुटेको छ, चर्केको छ
र मेरो अतीतले थाहा पाउँछ
ममा बाँसको झैं खोक्रोपना छ ।


१०) मान्छे मरभुमी होइन 


सास छउञ्जेल आश हुन्छ भन्छ
खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ
जतिसुकै डढेलो लगाउन्
अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ।

छोप्छन् आलो चिहानलाई
आलो सम्झनालाई
विस्मृतिका झारपातहरूले
भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा
फुल्छन् सक्रियताका फूलहरूे
मान्छे मरुभूमि होइन
ए ! मान्छे मरुभूमि होइन
प्रवृत्ति एकाएक र अन्तिमपल्टलाई कहिल्यै मर्दैन
मन त पल्हाउँछ घरीघरी, जाग्छ घरीघरी
मान्छेको मन मरुभूमि होइन।

किन के फरक छ दास युग र अहिले
त्रासदी भोग्नलाई? जिउँदो मान्छे डढेंकै छ
सुकुम्बासीको छाप्रोभित्र।
तर आज त्रासदी दुःख भएर
थुप्र्रै–थुप्रै दुःखी मान्छेहरूका सम्वेदनशील मनहरू
एउटा चाहनामा उनीएर बसेका छन्।

गल्ती गर्‍यो, जसले दुःखी मान्छेलाई मरुभूमि ठान्यो
गल्ती गर्‍यो, जसले संगीनमा उनीएको
सुकुम्बासी बाबुको रक्ताम्य लाश हेरेपछि
नाबालक छोराका आँखाहरू ढुंगा हुन्छन् भन्ने ठान्यो
गल्ती गर्‍यौ, जसले खरानीको डल्ला भएको
छोराको लाश देखेपछि
सुकुम्बासी बाबुको छात्ती बाँझो बगर बन्छ भन्ने ठान्यो।

नाबालक आँखाहरू ढुंगा हुन सक्दैनन्
बूढाको छाती बाँझो बगर हुनसक्दैन
आलो चिहानमाथि फुल्नै परेको छ
सक्रियताका फूलहरू।

मान्छे मरुभूमि होइन
रगत पात्लिंदैन भन्छ
रगत उम्लन थालेपछि पोख्नपर्छ भन्छ
नदी नै हो भान्छेको सहने शक्ति, पचाउन त सबै पचाउँछ
तर यस नदीमा पनि खतरा रेखा हुन्छ भन्छ
बाढ आउनुपर्छ भन्छ, बाढ
रगतको हिसाब किताब त हुन्छ हुन्छ
किनकि मान्छे मरुभूमि होइन।



११) रामसाइँला 

 रामसाइँला विस्फोटको हाँसो सुहाउँछ ठिट्यौलीमा

रामसाइँला आगोको बोली सुहाउँछ ठिट्यौलीमा
हामीले यसको सीमा कल्पना गरेका छैनौँ
हामीले यसको विशालता अनुभव गरेका छैनौँ
आजको यो पाइलो आजैका दिनलाई समर्पित
आजको यो निष्त्रि्कय दिन आजैलाई समर्पित ।

आजकै अनुरूप अर्को दिनमा
कुन्नि घामको सट्टा आतङ्क उदाउन सक्छ
साथी! त्यो त हाम्रो वर्तमान हुनेछ
आजको खैरो साँझ आजैलाई समर्पित
आजको विसङ्गति आजैलाई समर्पित ।

उच्चाटभरिको दिन!
साँझ तिम्रो मृत्युजस्तै लागिरहेछ
हुन सक्छ, कालो रात तिम्रो शोकसभाजस्तै मनाइरहूँ
एक रातभरिको मौन धारणा
तर मलाई भोलि तिम्रो शोकगीत लेख्न फुर्सद हुनेछैन
दिन! आजको रित्तोपना तिमीलाई समर्पित ।

रामसाइँला विस्फोटको हाँसो सुहाउँछ ठिट्यौलीमा
रामसाइँला आगोको बोली सुहाउँछ ठिट्यौलीमा ।


१२) लाहुरेलाई एक रोगी प्रेमीकाको पत्र 

. जीवनसाथी!
धेरै-धेरै प्यार
मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा
एउटा ह्दय उनेर पठाऊँ
एउटा ह्दय जडेर पठाऊँ
एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ
एकपल्ट दोहोर्याझऊँ
शताब्दीअघिको प्रेमको भावुकता
तर आजको सीमारेखा
कुन स्वतन्त्र चराले उड्न पायो र ?
यो कुँजिएको अस्तित्व
कुन सुस्केराले विश्वको हावामा बिसाउन पायो र ?

२. प्रिय!
हेर्नै नपाई आँखाबाट ओझेल भएका तिमीलाई
बोल्नै नपाई टाढा भएका तिमीलाई
मस्तिष्कमा उभ्याउने यथेष्ट साधन नै छैन
रकेटको उडानले कल्पनालाई ढिलो बनाइसकेछ क्यार
मानचित्र राखेर उड्दाउड्दै पनि
दुर्घटनामा परिदिन्छ मेरो आतुरता
अब म... अब म
सात समुद्र पार गरेर आउँदिनँ
तिमीलाई यहीँ म मेरै चौतारीमा हेर्छु
किनभने शरीरसँगै मेरो मस्तिष्क पनि सीमित भएको छ
ढुङ्गामा परिणिता गौतमीजस्तै


३. प्रिय!
प्रेम एक मृगतृष्णा
प्रेम एक चखेवाको लोभ
मेरा निम्ति प्रेम एक निर्जीव सत्य
मानौँ काकाकुलको तिर्खा
मानौँ घामलाई प्रेम गर्दागर्दै सूर्यास्तमा जाम परेको क्लिसो
यो नश्वर शरीर
यो अनन्त चाहना
तर, प्रेम दुई शरीरको मिलन
तिम्रो अँगालाभित्र म
मृत्युलाई छेकबार हालिरहेछ इच्छाको ताँती
प्रत्येक रात-
आह, म मेरा मीठा सपनाहरूलाई हेर्दै पोल्दै गर्दै छु ।

४. प्रिय!
तिमीले लेखेका थियौ
म तिम्रो वालेटको तस्बिरमा मुस्कुराउँछु रे
तिमी मलाई पाएर हराउन चाहन्नौ रे
मेरो सम्झनापत्रले तिमीलाई 'फिनिक्स' ले झैँ बिउँझाउँछ रे
मेरो माया तिमीलाई वटवृक्षको मायालु छाया रे
आह! यी सब इतिहासबद्ध भइसके
कसरी मैले बाँचेको थाहै नपाई
एक लामो अवधि बिताइसकेछु
अब तिमी अवश्य पाउनेछौ मलाई
'फिनिक्स' लाई झैँ आफ्नै खरानीमा जुनी फेरेको होइन
तर भन्नै नपाई मनको कुरा
सधैँ-सधैँका निम्ति सुतेको निद्रामा ।

५. प्रिय!
म मरिसकेँ
तिम्रो प्रेमलाई आफूसँग जलाइसकेँ, गाडिसकेँ
म सुतिसकेँ
सुत्नका निम्ति छँदैछ चिरनिद्रा
तर बाँच्ने तिमी त भोलि बिउँझन्छौ नयाँ घामसँगै
तिमी नरुनू सङ्घर्षलाई व्यङ्ग्य गर्दै
तिमी मान्छौ ?
कति बलियो थियो मेरो अन्त्य
जसले अनन्तको एक हिस्सा चोइट्याएर लग्यो
कति बलियो मेरो मृत्यु
जो अमरत्वलाई नै अधमरो बनाएर गयो
प्रेम मर्दैन तर यसलाई मार्नुपर्छ
मेरो अन्त्यजस्तै तिम्रो आरम्भ पनि बलियो हुनुपर्छ
अब यहाँ आउँछ यस पत्रको शेष
मेरो पत्रको शेष
तिम्रो 'फिनिक्स' को शेष
जीवनसाथी तिमीलाई
मेरो सबै प्यारको अवशेष ।


१३) विजय 

जीवनको पूर्व–पश्चिम
कुनै यात्रा यस्तो भएन
जहाँ पाइतालामा काँडा नबिझेको होस्,
जहाँ औलामा ठेस नलागेको होस्
दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका
सहयात्रीहरू देखेपछि
जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा
माइल ढुंगामा यसरी लेखेर आएको छु,
एकथरीको जीवन
विजयबाट शुरु भएर पराजयमा अन्त हुन्छ
अर्को थरिको जीवन
पराजयबाट शुरु भएर पराजयमा अन्त्य हुन्छ
कुनै अनुभूतिको नाउँ जीवन हो?
कुनै दिन जीवनलाई मैले
कर्कलाको पातको पानीजस्तै सँगालें
कुनै दिन जीवनको अनुभूति मर्करी जस्तो फुटेर
कोसौं भाग लाग्यो
कुनै दिन अञ्जुलीभरिको पानी जस्तै
अनुभूति जीवनको
छताछुल्ल भई भुईभरि छरियो
बीस कोल्टे आँशु केही एक कोल्टे हाँसो फेर्न पाएँ
आजभोलि म रित्तो पेट र नांगो आङमा
अनुभव गरिरहेछु
र अनुभूति पसीना र थकानमा बाँच्दैछ
र अनुभूति थोरै ज्याला र धेरै असन्तुष्टिहरूमा साटिंदैछ
“नसहनु” भन्ने एउटा अनुभूतिमा छाम्दैछु, तौलँदैछु
त्यसले अनुभूति विद्रोहमा जाग्दैछ
चक्रको यस बिसौनीमा
चाहे पाइतालाभरि काँडा बिझेको किन नहोस्
म फेरि अर्को माइल ढुंगामा अर्को चिनारी लेख्दैछु,
जीवन पराजयबाट शुरु भएर विजयमा अन्त हुन्छ।
एउटा व्यक्तिको जीवन इतिहासको प्रतिनिधि हुन सक्दैन
त्यसैले जीवन निश्चितरुपले यस्तै हुन्छ।
जीवन पराजयबाट शुरु भएर विजयमा अन्त हुन्छ।
कुनै समय सुस्केरामा छाम्न पर्दैन जीवनलाई,
झुल्कँदा र अस्ताउँदा घाम यसरी रातै हुन्छ
जीवन आफै एकदिन विजय भएर जन्मनसक्छ
सुकुमारी पाइतालाहरूको भरमा उभिएर म
अनुभूतिको अन्तिम चिनारी लेख्नेछु
जीवन विजयबाट शुरु भएर विजयमा अन्त हुन्छ।


१४) एक कोठा, एक उद्देश्य र एक इन्टेक्चुअल नारी 

हावाको बिपरित दिशातिर फर्केको झ्याल
एउटा मामुली टेबल
जीवनको प्रतिबिम्बस्वरुप एउटा ऐना
गाजल, पाउडर, क्रीम र आइ ब्रो-पेन्सिल
इन्टेलेक्चुअलका नातामा राखिएका
एउटा अंग्रेजी नवेल् र केही दैनिक अखबार
यो एक इन्टेलेक्चुअल नारीको कोठा हो ।

भर्खरै गफ सिद्धिएको न्यानोपनमा
ब्वाय फ्रेण्डहरूका स्मृति चिन्हस्वरूप
यताउता पल्टिरहेका छन्
चियाका रित्ता कप र चुरोटका ठुटा
नेपाली सुकुल
त्यसपछि सीमाबद्ध सतरन्जा
आदर्शको सीमा नाघ्न नसके तापनि
सुकुलको सीमा नाघेर
ब्वाय फ्रेन्डहरू कहिलेकाहीँ बिच्छ्यौनासम्म पुगिदिन्छन्
सधैँसधैँ असन्तोषको सपना बोकेका
नरम तकियाहरूमा पल्टिदिन्छन् ।

यस कोठाभित्र एउटा उकुसमुकुस छ
एउटा छट्पटी छ
झाँसीकी रानी, जोन अफ आर्क र म्याडम क्युरीका सम्झनाहरू
समाज, उद्देश्य र स्थितिसँग मिल्न नसकेर
प्रतिक्रिया झैं हाँसिरहेका हुन्छन्
खोइ कहाँ कहाँ छन् कृष्णकी राधा
रामकी सीता, मनुकी पुज्या
यहाँ त उसको श्रमले
एउटा कठोर जीवनवृत्ति अपनाइसकेको छ
यहाँ त उसका थकित पसिनाका थोपाहरू
धरौटी बस्छन्
एक ग्रेजुएटका पे स्केल अन्तर्गत
महिनाको अन्त्यमा आउने
अन्जुलीभर कागजका दामहरूमा ।



Comments

Popular posts from this blog

मार्क्सवाद अध्ययन सामग्री - Study Materials on Marxism

दर्शनशास्त्र दर्शनशास्त्र ·          जगतको विषयवोध गर्ने मानव प्रयास हो । ·          यथार्थलाई बुझ्नका लागी एक साधन हो । ·          जीवन र जगतलाई हेर्ने , बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । ·          यसले प्रकृति , जीवन , समाज र चिन्तनका   चालक एवम् सामान्य नियमहरुको अध्ययन गराएर मानिसको विश्वदृष्टिकोण निर्माण गराउँछ । ·          सिङ्गो जीवन र जगतका सामन्य नियमहरुको अध्ययन गर्ने एक निश्चित पद्धति पनि हो । ·          दर्शन कुनै पनि मानिसले एकैचोटी बनिबनाउ रुपमा प्राप्त गरेको नभएर लामो जीवनयापनका दौरानमा प्राप्त गरेका संश्लेषणात्मक ( synthesis) ज्ञान र अनुभवहरुको निचोड हो । ·          प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सार हो । (- कार्ल मार्क्स) दर्शन अध्ययनको परम्परा ·  ...

Notes Taken From Landreth's and Colander's Book "History of Economic Thought"

Notes Taken From Landreth's and Colander's Book  "History of Economic Thought"

Contents of Marx's famous book Capital (Das Kapital)

Das Kapital, September 14, 1867. Capital: A Critique of Political Economy