Skip to main content

विजय मल्लका केहि कविता

विजय मल्ल 

१) कतिले आत्महत्या गरिसक्थे!

कतिले आत्महत्या गरिसक्थे !
बगर-बगरमा, गल्ली-गल्लीमा,
रानीपोखरीको नील जलमा,
हरेक देखिने दलिनहरूमा
कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे!
कतिले आत्महत्या गरिसक्थे!
दुःखले पोलेको मुटु लिएर
पीडाले सढेको शरीर लिएर
अन्यायको तातो झीरले डामेको अन्धो आँखा लिएर
कतिले नमर्दै आफूलाई मारिसक्थे!
कतिले आत्महत्या गरिसक्थे!
जिउनु छ भनेर नै कोही जिउँदैनन् यहाँ,
मृत्युसँग तर्सेर नै कोही बाँच्दैनन् यहाँ ।
यहाँ कतै-कतै पाइन्छ-
आँसुलाई पुछिदिने,
स्नेहको मीठो स्वरले टुटेको दिललाई साँचिदिने
मायालु मुलायम हात, मायालु मुलायम आँखा ।
त्यसैले पो-
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो,
टुटेको दिलको, फुटेको मुटुको,
कसिङ्गरैकसिङ्गरको, करङैकरङको थुप्रोझैँ ।
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो!
मसान भइसक्थ्यो!
उफ्! कतिले आत्महत्या गरिसक्थे!


२) छोरीलाई मानचित्र पढाउदा 

रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हरे, हरेक राष्ट्रका फाँटमा!
यो हो भारत, यो हो पाकिस्तान
हिन्दू-मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान्!
यो जर्मनी, यो इङ्गल्यान्ड
यो रुस, यो जापान ।
अणुबमले खाएको,
हेर नागासाकी, हिरोसिमा!
हिटलरको भूतले सताएको
यही हो युरोप कङ्काल,
यही हो अमेरिका,
डलरको देश-
'अणुबम' को निर्माता
शान्तिको सन्देश
जता हेर
रातो रगतले लाएको छ घेरा
परेवालाई गन्जकमा बन्द गरेझैँ
मानिस छन् बन्दी यस खोरमा ।
मेरी छोरी,
(कुनै दिन त्यस्तो आउला)
जब सबले मिलेर,
हातमा हात गाँसेर,
अङ्कमालमा बाँधिएर-
हब्सी, आर्य, मङ्गोल
पलिनिसियन, द्रविड, काले
सबले पुछ्नेछन्
आँखाको प्याला घोप्ट्याएर
आसुँले त्यो रक्तरेखा ।
अनि,
धेरै कालपछि-
मेरी छोरी,
कुनै दिन त्यस्तो आउला
त्यो रातो रेखा खोजे पनि
तिमी पाउनेछैनौ त्यहाँ ।


३) महान् लेनिन प्रति 

कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।

सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् ।
पर्ख, यो पत्थरमा पाइला नहाल ।
यस पत्थर–पत्थरमा आत्मा छन् ।
यहाँ नचिच्याऊ,
यहाँ पाइला पाइलामा इतिहास छन् ।
यो १९०५ सन्को चट्टानको ढिक्का हो,
यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ ।
नपत्याए सुन,
यो जीवनको गाथा गाउँछ ।

ऊ, को आयो हेर, नेभा नदीको तीरबाट
लाख लाख मानिसको जुलुस लिएर ।
यो विशाल काया को उठ्यो
धरती–आकाश एक गरेर ?
यो कसको निनाद, यो कसको वज्रघोष ?
सारा राष्ट्रको छटपटी, पीडालाई
आफ्नो छातीमा बोकेर
को चिच्याउँछ, को हाँक दिन्छ,
सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर ?

एउटा पहाडको टाकुरामा एक पाइला हाली
को फड्कन खोज्छ अर्को टाकुरामा ?
पृथ्वीलाई आफ्नो बाहुमा उठाएर
को यसरी हिँड्छ आँखाभरि सपना लिएर ?
पर्ख, ऊ नजिकै आयो,
सम्पूर्ण विश्वलाई ढाकेर ।
सुन, उसको आवाज
हरसडकबाट आइरहेछ ।
हरमोडबाट आइरहेछ,
हरघरले गुन्जाइरहेछ,
हरइँटले बोलिरहेछ,
हरपत्थरले दोहो¥याइरहेछ ।
के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ?
के मीठो छैन, आमाको स्नेहझैँ मधुर ?
हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई
जो कानको प्वालमा गुन्जिरहन्छ–

दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिङ्टनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौँमा ।
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन ।
के आवाजले छुँदैन तिम्रो मुटुलाई
थपथपाएर, सुमसुम्याएर ?
ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर
लेनिन
पराधीनता, शोषण, असमानतालाई कुल्चेर,
लेनिनग्रान्दको बीच चोकमा,
रातो झन्डा फहराएर
लेनिन ।

४) गद्य गित 

त्यो पर माथि आकाशमा,
दिउसै दिन रोएको, छटपटाएको,
आँसु-झारेको
तिमीले देख्यौ ?
यसरी विस्मयले सोधेको मलाई अ-
हिले संझना छ ।
प्रिय ! उहिले वायुमा ओसारिएका
सुस्केराहरुलाई
कान थुनी धिक्कारेको, म संझन्छु ।
त्यो रुने वृहत आकाशको कमजो-
रीलाई, व्यथाले दुहेको त्यो वर्षालाई
घृणा गरेको, अहिले म संझन्छु ।
त्यो व्यापक रुञ्चे आकाशभन्दा
आफूलाई बलियो संझेको,
ओहो अहिले संझना छ ।
प्रिय, अहिले भने, -
वायुमा सुस्केराहरु मेरै ओसारि-
न्छन्, मेरै निराशाहरु त्यो डाँडाभन्दा
माथि माथि उडछन् ।
अनि माथि आकाशमा आँधी
उठाउँछन् वर्षा वर्षाउँछन् ।
उफ ! प्रिय ! मेरो यो वियोगको
छिनमा वर्षा त्यहाँ, बढ्यो होला !
आकाश त्यहाँ रोयो होला !

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)


५) कलम रोक 

युगको भावना मार्न चाहने
ए हत्यारा !
तिमी मलाई भन्छौ, ‘कलम रोक!’
म सोच्छु
यो पहाडलाई, यो नदी नालालाई
यो खेतलाई, यो हरियाली बगैंचालाई
यो सुन्दर सुन्दर –
हावामा नाचिरहने, हावामा उडिरहने
हावामा बोलिरहने
धानको चालालाई
किन मसान बनाउँदैनौ ?
किन मसानको आगोले भस्म गर्दैनौ ?
यदि कोही भोका भोकले चिच्याउँछ भने
त्यसको पेटमा विषको छुरी किन रोप्तैनौ ?
यदि शिशु दूधको मुन्टा खोज्दै
मरेकी आमालाई चुस्तै कहालिन्छ भने
घाँटी अँठयाएर त्यसको प्राण किन छिन्दैनौ ?
तर तिमी मलाई भन्छौ –
कलम रोक ?
ए हत्यारा !
फेरि म सोच्छु ---
त्यो मुखबाएर, हात फैलाएर
भ्रम गर्ने, मौका नपाएर,
भविष्यको सुन्दर सपना देख्न खोज्छ भने
त्यसको आँखाको गेडीलाई
त्रिशूलले किन घोच्दैनौ ?
किन झिक्तैनौ
त्यो नग्न कङ्कालमा
त्यो टेढो थोङ्ने मानवमा
तिम्रो विरोधको आगो झल्कन शक्छ भने
ए बलिष्ट !
एकै घुस्साले त्यसको मिति किन पुग्याउँदैनौ ?
तर तिमी मलाई भन्छौ –
कलम रोक !
ए हत्यारा !
तिम्रो द्रोहमा जहाँ जहाँ रुख उम्रन्छ,
त्यो जङ्गलमा डढेलो किन लाउँदैनौ ?
गरीबको छातीमा असन्तोषको ज्वाला जल्छ भने
‘दानवताको भावना उर्लन्छ भने
तिम्रो ठूला ठूला यन्त्रहरुलाई हत्याउन खोज्छ भने
ए बलवान !
ए पराक्रमी !
सम्पूर्ण संसारलाई नै किन ध्वंस गर्दैनौ ?
सम्पूर्ण विश्वलाई नै किन चकनाचूर पार्दैनौ ?
तै पनि तिमी मलाई भन्छौ –
कलम रोक ?

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)


६) यान्त्रिकता 

सडक-सडक, होटल-होटलमा
कागजका कोरा पर्चाहरूमा
केही लेखिएजस्तो, केही कोरिएजस्तो
यन्त्रमानव
पकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ ।
मानौँ यस दुनियाँमा केही भएको छैन
मानौँ यहाँ केही समस्या नै छैन!
ए पत्थरका सालिकहरू,
तिम्रो जीवन र मृत्युलाई छुट्ट्याउन पनि गाह्रो भो,
साँच्चै गाह्रो भो!


७) यस धर्तिको पानिमा 

एक अँजुली पानी
उठाएर ओठसम्मन्
जब जब लान्छु बागमतीको
अकस्मात् बज्र गिरेझैँ आकाशबाट
या नजिकैबाट कसैले
फू गरेर मन्त्र फुकेझैँ,
या छली रामले बालीलाई हानेझैँ वाण
या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले
परिवर्तित हुन्छ त्यो पानी
रातो बाफिलो रक्तमा !

तप्कन्छ यही औँलाको काप कापबाट
त्यही रक्त विस्तारै धरतीमा।
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु,
अभिशप्त, विवश, व्याकुल।

किन आकाशका ताराहरू
हेर्दैनन् अहिले अनुहार आफ्नो
यस धरतीको पानीमा?
किन नारसिस हुँदैन मोहित
आफ्नो छायाँको सौन्दर्यमा?
के भो यस धरतीको पानीमा
अचानक यस बीसौँ शताव्दीमा?
म खोज्दै खोज्दै पुग्दछु,
विक्षिप्त पागलझैँ
पृथ्वीका सारा नदीहरूमा—
गङ्गा, भोल्गा, ह्वाँग–हो
मिसिसिपी, अम्याजाँ, नाइल,
जताततै बदलिन्छ पानी,
अकस्मात् रक्तमा!
मानौँ चन्द्रावतीले सराप पाएझैँ!
तिर्खाएको तिर्खायै
पानी खोज्दै छु यस बीसौँ शताब्दीमा
म विष पिएझैँ एउटा मानिस
अभिशप्त, विवश, व्याकुल।

गुलाफको फूलमा अहिले
किन बारुदको गन्ध आउँछ?
अङ्कमालमा मुटु किन,
बोल्दछ बमको आवाजझैँ
किन हरेक झाँग झाँगबाट
चितुवा लुकेझैँ शङ्का चिच्याउँछ?
हरेक क्षण किन त्रास ओसारिएर
यस धरतीमा लहराउँछ?
के भो यस धरतीको पानीमा?
बाघले मृगलाई मार्दै पछारेझैँ
नदीका किनार किनारमा,
रगत त्यसैको मुछिई बगेझैँ,
किन रातोपन छ यस पानीमा?

कुनै सुनकेशरी मैयाँ नुहाउँदिनन् अब
यस बीसौँ शताब्दीको जलमा।
बगरेखानाबाट धारो छुटेझैँ
के सारा नदीका मुहान भए रक्तरञ्जित?
म तिर्खाएको तिर्खायै,
शुष्क कण्ठ यस्सो उचाली,
आकाशतिर ताक्तछु
फगत आकाशतिर ताक्तछु
अभिशप्त, विवश, व्याकुल!
के भो आज यस धरतीको पानीमा
अचानक यस व्यापक महान्
बीसौँ शताब्दीमा?

Comments

Popular posts from this blog

मार्क्सवाद अध्ययन सामग्री

मार्क्सवाद अध्ययन सामग्री Prepared by MS Bhusal

Contents of Marx's famous book Capital (Das Kapital)

Das Kapital, September 14, 1867. Capital: A Critique of Political Economy  

Study Materials on Marxism

  Study Materials on Marxism Prepared by MS Bhusal Translated by Sonnet 4.6