Skip to main content

रिमालका केहि कविता

गोपाल प्रसाद रिमाल 

१) एक दिन एक चोटि 

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ

लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्

खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ!


) जङ्गि निशान हाम्रो 

रातो र चन्द्रसुर्जे, जङ्गी निशान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।।

हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो।।
यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।

जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्‌मा।
सबको सरन बलियो, जङ्गी निशान हाम्रो।।


) तिमी को ?

यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ!
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ;
तर, हामी त्सोलाई त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को?
यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को?
हामीलाई हाम्रो हार नै प्रिय छ,
दुर्गति नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को?
हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो गुण र क्रान्तिको भ्रान्ति
कसैले केहीबेरको लागि दिए हुन्थ्यो भन्ने हाम्रो जपना छ,
“त्यसो नगर, आफैं योग्य बन” भन्ने तिमी को?
आफ्नो अशक्यता, आफ्नो आलस्य, आफ्नो घीनसीन पोख्ने
हामीलाई एउटा पात्र चाहिएको छ,
हामी हाम्रो हितैषीलाई मारेर भए पनि
“हामी उसले भनेजस्ता होइनौं” भनेर
आफ्नो वीरता साबित गर्न चाहन्छौं,
“त्यो नगर” भन्ने तिमी को?


४) प्रश्न 

नेपाली तिमी यहाँ किन आयौ?
गो-रखाली हौ,
गो-रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ? नेपाली...
तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,
पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीप-
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा? नेपाली...
आदर्शझैँ उच्च,
विस्तृत विशाल हृदयझैँ,
सत्य छुन बढेका,
या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै-
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ? नेपाली...
या बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आर्ह्लँदा कर्म-जगतमा,
कुनै विपरीत हुरीले
फेरो मार्यो र पथमा?
नेपाली...


५) आमाको वेदना 

रात अज्ञानझैँ अँध्यारो थियो,
स्वर्थजस्तै चिसो बतासको हुरी थियो,
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो,
कुचि्रँदाकुचि्रँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झलिक्क भो।
एउटा आगो,
एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,
जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !
कस्तो हुन्थ्यो !!


अनि एक झसमिसे बिहान,
जब सूर्यले आफ्नो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिए-
मलाई मीठो थाहा भयो।
मभित्र एउटा आगो जन्मेको छ,
जो बिस्तारै रूप पाउन लागिरहेछ।
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो,
आशाको साउने भेल पोखिदियो,
मेरो खुट्टा भुइँमा रहेन।
साथसाथै त्यस आगाको आहारा भएर बेहि्रनुपरेकाले
म संसारको निम्ति
पलमा देखिने पलमा हराउँने
बिजुलीझैँ भएँ।


त्यसले रूप पाउन थाल्यो,
घाम-जून, जल-थल, आकाश-समीर सबले
त्यसको स्याहारमा सगाइदिए।
कैयौँचोटि थाहा पाएँ।
मेरो मुटुको ढुकढुक
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ।


त्यो जन्म्यो।
मैले थाहा पाएँ, संसारमा किन फूल फुल्दछन् !
त्यसको निम्ति मेरो स्नेह दशधारा भएर बह्यो।
ताराहरूले
रातमा सुतेकी वसुन्धरालाई जगाउँने
झोलुङ्गे गीत मलाई सिकाइदिए।
त्यो हुर्क्यो।


म आमाको आशिष्
आकाशजत्तिकै प्रशस्त छ-
उता जीवनको औँसीमा कल्पित त्यो आगाको झल्को
मेरा मनका लहरहरूसित खेल्दै
शुक्लपक्षको
चन्दमाजस्तै भएर बढिरहेछ।
यता त्यसलाई जन्माउँदा हुर्काउँदा भोगेको
सारा वेदना
छातीभित्र रहीरही चिच्याइरहेछ।
के त्यो भनेजस्तो होला !!



६) आमाको सपना 


आमा, त्यो आउँछ र?
“हो, बा, त्यो आउँछ।
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ!
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि
बढ्ता छोइने भएर आउँछ।”
हो र आमा?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ!
तयो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो!
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
तयो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन!
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन!
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ!
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ!”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा!
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
अब म उठेँ, गएँ।”
“तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो!”



) तिमी र म 

भैगो भन्या" भैगो,
तिम्रो दया मलाई चाहिन्न,
बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला
तर तिम्रो दयाकोर् क थोपा पनि मलाई ताहिन्न।
जब संसारबाट उप्केर मेरा आँखा
आकाशतिर हेर्न लागेका हुन्छन्,
जब आफ्नो पीर पोख्ने ठाउँ नपाएर
म शून्य विजनको सहारा लिन्छु,
जब म नफुकेर कुच्रन्छु-
तिमी आएर भन्दछौ-"कति राम्रो आकाश,
कति सुन्दर फूल,कति शून्य ठाउँ हैन त?"
हरे ! म तिमीलाई कसरी बुझाऊँ कि म
यहाँ किन आएँ,
किन अहिले आकाश, विजन, फूल राम्रा छैनन्,
किन मानव-हृदय सबभन्दा ठूलो आकाश,
सबभन्दा सुन्दर फूल हो।
यसैले तिम्रो कुरामा सही थापेर्झैँ गरेर म भनिदिन्छु,
"हो, ओहो, कति राम्रो !"
संसार गाउँछ-"हो, ओहो, कति राम्रो !"
तिमी भन्दछौ- तिमीले यसरी एक्लै आनन्द लिएको,
यसरी आकाशमा आफूलाई हराउन खोजेको
यसरी फूलहरुसित नाता जोड्न खोजेको देखेर
मलाई आनन्द लाग्छ।
हो, अहिले पनि टाढाबाट तिमीलाई निक्कैबेर
एकटक लाएर हेरिरहेँ।
वातावरण कवितामय थियो, तिमी -
हरे, म कसरी तिमीलाई भनूँ कि यो मेरो
बेवरी हे, मेरो कमजोरी हो,
कि फूलले भन्दा पहिले संसारलाई
आफ्नो हृदयले सिंगार,
त्यसैले क तिम्रो कुरामा सही थापेझैं गरेर
खिस्स हाँसेर भनिदिन्छु,
"हो, कति कवितामय !"
प्रतिध्वनि गाउँछ-"कति कवितामय !"
संसार गाउँछ- "कति कवितामय !"
तिमी भन्दछौ- "तिमी"-
भैगो भन्या" भैगो,
तिम्रो दया मलाई चाहिन्न।
बरु तिमीले दिएको जहर
म सिनित्तै रित्यइदिउँला,
तर तिम्रो दयाको एक थोपा पनि मलाई चाहिन्न।



) दन्त्य‌ कथा 

दन्त्यकथाकी राजकुमारी र एक गरीब
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए?
फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरीबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो?
ताज्जुबको कुरा छ,
तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ
उनीहरुको प्रेम पर्यो!
हो, पानीझैं पर्यो होला
अनि आगोझैं बल्यो होला।
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् र तँ
स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं
शिर उच्चा गर्दै हिँड्छस्, ए गरीब!
के तँ फेरि साउनको बादलभै मं निचोरिन्नस्?
भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन?
आँधीको बिजुली भएर
तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन?
यस्तो मीठो दर्दको कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ।
कथाको गरीब गम्भीर छ,
जादूले अर्कै भएजस्तो छ
ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ
उनीहरुको बिहे हुन्छ।
सान्त्वना

तिमी नरोऊ, बस केही बेर पर्ख मात्र
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ,
तिम्रै अङालोमा अटाउन आइपुगनेछ,
उसको त्यो धप्प बलेको अनुहार
भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ,
तिमी नरेऊ, बस केही बेर पर्ख मात्र।
हो, उसले आफूलाई बेग्लैबेग्लै तुल्यायो,
झ्वाट्ट चिन्न नसकिने तुल्यायो,
आफ्नो मायालु हृदयलाई ठोकठाक गरेर साह्रो तुल्यायो,
आफ्नो हलुका लयालु बोलीलाई कडा र गह्रौं तुल्याये;
हो, उसको लठ्ठ परेको स्वप्निल हेराइ तीखो र रुखो भयो,
उसका नरम केश लट्टा परेजस्तै भयो;
ऊ फुस्रोधुस्रो जोगीजस्तै भयो;
किनभने उसले संसारलाइए ठानेभन्दा अर्कै पायो,
उलटपुलट गरिदिनुपर्ने पायो,
ऊ त्यसैले योद्धा भयो, कम्मर कसेर लडिरहेछ!
होइन, ऊ निठुरी भएको होइन,
माया मारेको होइन,
तिमीलाई बिर्सेको होइन,
चाँडै ऊ तिम्रो मायालु काखमा थकाइ मार्न आउनेछ,
तिम्रै अङालोमा अटाउन आइपुग्नेछ,
संसार हाँक्दै आगाडि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा फर्कनेछः
होइन, नआत्तिऔं,
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन,
आइलाग्नेमाथि जाइलागेको मात्र हो,
ऊ त्यसै पर पुगेको होइन।
बरु तिमी निन्याउरी नहोऊ, तिमी हँसिली होऊ,
तिमी उज्याली भइदेऊ,
आफ्नो केही वस्ता नभए तापनि
उसलाई तिम्रो पूरा वास्ता छ,
आफू बेखबर लडिरहे तापनि तिम्रो खबर ऊ बराबर लिन्छ,
त्यसैले तिमी चहकिली होऊ,
तिम्रो खबर पाउँदा उसलाई बल र साहस आओस्,
तिमी उसको शक्तिको स्रोत भइदेऊ,
होइन, नआत्तिऔं,
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन,
लडाइँ खेल्दै पर पुगेको योद्धा
भरे तिम्रै आखमा खेल्न आइपुग्नेछ,
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा फर्कनेछ।
उसले मन दरो पार्यो, तिमी पनि दरी भइदेऊ,
उसले प्राणको निम्ति प्राण दियो त
तिमी कत्ति काम नहोऊ,
भरे “तिम्रो मायामा म पग्लें,
प्रिये, म फर्केँ” भनी तिम्रो आँचलमा
आफ्ने कालो अनुहार लुकाउन आइपुग्यो भने
मर्नु भएन?
त्यसैले तिमी पनि प्राण गर, भनिदेऊ,
“म हारेको अनुहार हेर्दिनँ,
लडाइाबाट पीठ फर्काउनेको निम्ति
मेरो घरको दैला खुल्दैन,
मेरो अङालोको हार हार्नेको निम्ति होइन,
मेरो जयमाला विजेताको निम्ति हो।”
भनिदेऊ, नडराऊ,
हाम्रो शिर ठाडो हुन नदिने गरीबीको विरुद्ध,
हामीलाई बोल्नै नदिने गरीबीको विरुद्ध
हामीलाई बाँच्नै नदिने गरीबीको विरुद्ध,
हामीलाई केही थाहै नदिने अज्ञानताको विरुद्ध
कम्मर कसेर लडिरहेछ;
जित उसैको हुन्छ।
भनिदेऊ,
हो, तिमी उसको शक्ति भयौ,
जित उसको हुन्छ।
ऊ चाँडै नै फर्कन्छ,
उसको धप्प बलेको अनुहार तिम्रै मधुर दियालोमा देखिने हुनेछ,
लडाइँ खेल्दै पर पुगेको तिम्रो योद्धा
भरे तिम्रै काखमा खेल्न आइपुग्नेछ,
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ।


९) परिवर्तन 


हिजोसम्म रोईरोई बाँचिरहेका थिए।
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको बोलीमा केही थिएन,
मनको प्रतिध्वनिसम्म थिएन,
मानिसले बोलेजस्तै थिएन,
केवल शब्द थियो, अर्थ थिएन,
आज तिनैको बोलीमा प्राण छ,
व्यथा, उन्माद, आह्वान छ, आकर्षण छ,
आज तिनैको मौनता पनि बोल्छ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो
आज त्यही हात अँजुली परेको छ-
आफ्नो सम्पूर्ण जीवनलाई एक स्वप्नको निम्ति
अर्पिदिने प्रेरणा त्यसमा आएको छ,
हिजोसम्म जसमा लिने लाचारी मात्र थियो,
दिने इच्छाको उदय पनि भएको थिएन,
लाचारी, निश्छलता, कायरताका दिन बिते।
आज सब कटिबद्ध छन्, प्राण हत्केलामा छ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको माया गर्ने मित्र थिएन,
घृणा गरिदिने दुश्मनसम्म थिएन-
त्यस्तो गरीब थियो !
हिजोसम्म जसको क्षुद्रता नै सर्वस्व थियो,
जो त्यही क्षुद्रतालाई कुच्रीकुच्री
कायरताको ढालले बचाएर हिँडथे
आज तिनैको ज्यान दिने मात्र होइनन्
ज्यान लिने दुश्मन पनि छन्-
आज यस्ता धन छ !
आज तिनैको छाती फुलेको छ, त्यही तिनको ढाल छ।
हिजोसम्म रोईरोई जो बाँचिरहेका थिए।
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।


१०) होश 

म मानिस आफ्नो खुशीले जन्मेको होइन,
आफ्नो खुशीले मर्ने पनि होइन।
यो ज्ञान कसलाई भएको हो साथी?
यो संसार सपना हो,
जीवन पानीको फोका हो,
यहाँ कोही पनि आफ्ना छैनन्,
जो छन् तिमीजस्तै नै जन्मेका हुन्।
तिमीजस्तै नै मर्ने हुन्।
यो वैराग कसलाई भएको हो साथी?
म सर्वसम्पन्न अर्थात् ईश्वर हुँ,
म भोगी हुँ,
म सिद्ध हुँ,
मजत्तिको अरु कोही छैन,
म मोज गर्छु।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी?
म मानिस न त आफ्नो खुशीले जन्मेको हुँ,
म आफ्नो खुशीले मर्ने हुँ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी?
कामी क्रोधीहरु आफ्नो मनोकामना
पूर्ण गनका लागि अन्यायपूर्वक
धन जम्मा गर्ने चेष्टा गर्छन्,
काम, क्रोध र लोभ यी तीन तमेद्वार हुन्,
यो होश कसलाई भएको हो साथी?
म त न आफ्नो खुशीले आँखा खोल्ने हुँ,
न आफ्नो खुशीले आँखा चिम्लने हुँ, साथी !
यो होश कसलाई भएको हो साथी?
जङ्गी निसान हाम्रो
रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।।
हिमालझैंँ अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो।।
यो जन्मँदै जगत्मा कैयौंँ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो।।


११) रजतजयन्ती 

आज रजतजयन्ती।
आँखा, तँ बन्द हो-
तेरो नक्कलझक्कलको आज के काम?
नाक, तँ टालिई-
तेरो सुँध्ने शक्तिलाई आज बिर्सिदे।
यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन?
दशै इन्द्रियहरु, आफ्ना थान्का लाग।
तिमीहरुको घमण्डको पखेटा
आज काटिदिन्छु।
जोसित इच्छा छ यसैसित सोध।
सवै एकै स्वरमा जवाफ दिनेछन्-
"आज हाम्रो आनन्द दिवस हो-
यो दिन ननिभ्ने गरी उज्ज्वल छ ,
आज रजतजयन्ती।"
(क)

रात औसीकोलाई स्वगत !
दिन सुर्यग्रहणकोलाई !
नक्षत्र हो !
तिमीहरु आफै विलीन हुन सत्तैनौ भने
बादलको पर्दाभित्र लुक
मुख नदेखाओ-
मन त्यसै गद्गद छ।
छाती फुलिरहेछ।
पृथ्वी, तँ आज खुम्चिन छाड् !
तेरो यो सानू देहले
हाम्रो छाती र कानलाई
ठाउँ पुर्या उन सक्ला र?
"आज रजतजयन्ती"
(ख)

स्वर्ग
के खुसियालीको घर रे?
स्वर्ग, तँ स्वर्गै भइस्।
जा, मनले आज बिदा दियो।
तडागमा प्रतिबिम्बित चन्द्रलाई
टिप्न किन हामफाल्ने पानीमा?
के आनन्दको सट्टा लिने हातभरि हिलैहिलो?
आज हाम्रो समवेशले स्वर्ग हुन्छ अझ सुखी।
स्वर्गका अप्सराहरु,
इन्द्रधनुजस्ता पोल्टा थाप।
आज हामी आननद-व्यापार गर्दछौं !
हाम्रो आनन्दको लायक बदलामा दिने
छैन भने अरु केही कुरा, युगयुगको निम्ति
सापटी हामी दिन सक्तछौं।
अरु ताहिए, सित्तैमा पनि खुशीसँग।
फेरि, हिमालयको अग्लो टुप्पाबाट,
शङ्क आज फुक्तछु !
आनन्द लुट्न कसैलाई
इरादा छ भने- "स्वागतम् !
त्यो आओस् नेपालमा।
आज रजतजयन्ती।"
(ग)

आज हामी आनन्दी छौं !
आज हामी सुखी छौं !
संसारमा आज हाम्रै कथा छ।
सधैं याद राखौं यति कुरा-
"यस्तै आनन्दी आज,
र आजजस्ता भोलिले
भरिएको छ
युगयुगको नसानसा।
आज रजतजयन्ती।"

Comments

Popular posts from this blog

मार्क्सवाद अध्ययन सामग्री

मार्क्सवाद अध्ययन सामग्री Prepared by MS Bhusal

Contents of Marx's famous book Capital (Das Kapital)

Das Kapital, September 14, 1867. Capital: A Critique of Political Economy  

Study Materials on Marxism

  Study Materials on Marxism Prepared by MS Bhusal Translated by Sonnet 4.6