Skip to main content

हरिभक्त कटवालका केहि कविता

हरिभक्त कटवाल

१) यो जिन्दगी खै के जिन्दगी ! 

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !

बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !

पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !

रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!


२) मन त फलामकै भए असल हुन्छ 

मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो—
मन उतै भुल्यो,
बैँसले जाऊँ है भन्न लाग्यो—
पीर झन् ठूलो;
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै,
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ;
 त्यसैले पनि—
मन त फलामकै भए असल हुन्छ ।

३) जीवन : एक दृष्टि 

घरि घरि हावा भरिरहनु पर्ने
पङ्कचर भएको-
बाइस्कलको ट्यूब जस्तो यो जीवन
कति टिठलाग्दो छ !
टाल्यो- उप्किन्छ
उप्किन्छ- टाल्यो
टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ
र पनि नटाली धर छैन
नगुडी चक्कालाई सुख छैन !
गुड्दा गुड्दै जब असंख्य भ्वाङ पर्छन्
टाल्नै नसकिने- ट्युबमा
अनि फेकिन्छ निर्दयतापूर्वक
डष्टबिनमा वा कुनै नालीमा ।
घरि घरि हावा भरिरहनु पर्ने
पङ्कचर भएको-
बाइस्कलको ट्यूव जस्तो यो जीवन
कति टिठ्लाग्दो छ !!


४) म कवि 

आफैलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै, आज कविता सोच्नै मान्दैन,
सायद त्यसैले होला सुनगाभा ।
तिम्रो मुस्कानभन्दा मेरा आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घण्टौँ एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टितेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए,
जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए,
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ
 तर सुनगाभा ।
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
— जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्रयो।


५) मर्न सकू तिम्रा लागि 


बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै
माया देऊ, मलाई मायाको भोक लागेको छ।
हात चोपलेर पवित्र पानीमा वाग्मतीको
तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु।

मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको
मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु
यत्तिका दिनसम्म त्यसै भौतारिँदै हिँडे– वारिस विना
केवल दाँत ङिच्याउँदै अरुको भुकाईमा–थुकाईमा।

तर आमा! जहाँ थिएँ– तिम्रै छोरो थिएँ
तिम्रै सौम्य अनुहार हुन्थ्यो मेरो यी आँखाभरि
तिम्रै रगत प्रवाहित थियो मुटुभरि–कलेजोभरि
तिम्रै गौरवगाथा व्याप्त थियो मेरो उत्साहभरि–उमङ्गभरि।

बल्ल आमा ! तिमीलाई ‘आमा’ भन्न पाएको छु
करोडौँ तिम्रा ओजस्वी सन्तानहरुका लाममा–
आफूलाई उभ्याएर आकाशतिर दुईहात उचालिदिएको छु
रहर कुँदिरहेको छु यी पाखुराहरुमा केही गर्न सकूँ तिम्रा लागि
तिम्रो गौरव नै हाम्रो अस्तित्व आमा! मर्न सकूँ तिम्रा लागि।


) रक्सिमाथि दुई टुक्रा 

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम।
२)
म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर ! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ।


७) रहर 

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहास पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको।

Comments

Popular posts from this blog

मार्क्सवाद अध्ययन सामग्री

मार्क्सवाद अध्ययन सामग्री Prepared by MS Bhusal

Contents of Marx's famous book Capital (Das Kapital)

Das Kapital, September 14, 1867. Capital: A Critique of Political Economy  

Study Materials on Marxism

  Study Materials on Marxism Prepared by MS Bhusal Translated by Sonnet 4.6