Skip to main content

कृष्ण सेन 'इच्छुक' का केहि कविता

कृष्ण सेन 'इच्छुक'




१) कान्छी, भट्टी र देश 

अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र, अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ

यात्रीहरू आइरहेछन् र गइरहेछन्
परदेशीहरू गइरहेछन् र आइरहेछन्
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छटपटीको तातो भुंग्रोभित्र
खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ

भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ
गहबाट बहका नदीहरू झारिरहिछ
कान्छी भट्टी थापिरहिछ।

उसका आँशुहरू
मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू हुन्
उसका रहरहरू
मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्
र ऊ, मानौँ, गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराईका मोर्चाहरूमा बेखबर
प्रिय पति र मायालु बन्धुहरूलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ।

२) प्रतिबन्ध 

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ।

ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ।

उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ।

इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई
झन् ठाडो देख्न चाहिरहेछु

यसबेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठीलाई
झन् सबल देख्न चाहिरहेछु

यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई
झन् अग्रसर देख्न चाहिरहेछु

यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा
युगको हुंकार सुन्न चाहिरहेछु

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटमा ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न।


३) माछा - माछा, भ्यागुतो

मेच उही हो पर्दा फेरिएको छ
नाटक उही हो दृश्य फेरिएको छ
नायक उही हो अभिनय फेरिएको छ
गीत उही हो भाका फेरिएको छ
‘डमडम’ बाचाहरुको विषालु धुनमा
ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा
तिमी ठान्छौ पुरानो नौटङ्की पटाक्षेप भयो ।

रङ्गमञ्चमा थुप्रै कलाकारहरु छन्
महान् र प्रतापी नायक छ
सुन्दर परिधानमा सम्भ्रान्त नायिका छे
र, प्रतिनायकको भूमिकामा तनभिखारी जनता पनि छन्
नाटक बडो सुन्दर छ
र अझ बडो सुन्दर अभिनय गर्दै
नेपथ्यबाट आइरहेको आर्तनादहरुको कोरस् गीतमा
नरमुण्डहरुको मादल ठोकेर
नाचिरहेछ नायक र खुसीले गाइरहेछ
माछा–माछा भ्यागुतो !
माछा–माछा भ्यागुतो ! !
नाटक बडो रोचक छ
तिमी ठान्छौ यो कुनै कल्पनाशील
महाकाव्यको मौलिक प्रस्तुति हो ।

मदिरा उही हो प्याला फेरिएको छ
व्यक्ति उही हो दोसल्ला फेरिएको छ
पल्टन उही हो कवाज फेरिएको छ
धार उही हो तरबार फेरिएको छ
जल्लादहरुको उदार कृपाले
घाँटीमा टाँगेको फाँसीको पुरानो डोरी फेरियो भन्दैमा
तिमी ठान्छौ फेरि अप्राप्य जीवन
सदालाई सुरक्षित भयो ।

सम्मानित दर्शकहरु
कलाका प्रिय प्रशासकहरु
जतिसुकै प्रभावकारी होस् वा उत्कृष्ट अभिनयले पूर्ण
नाटक पुरानै र बासी छ
र, त्यो महान् प्रतापी नायक
यथार्थ जीवनमा सम्झ
तिम्रै टाउकोमाथि गिर खेल्ने
क्रूर खलनायक हुन्छ भने
र, इतिहासको प्रत्येक माछो देखाएर
सधैं भ्यागुताले जिल्याउँछ भने
त्यो तीतो सत्यबोध पनि
के त्यत्तिकै काव्यात्मक हुन्छ ?


४) सेतु जैसीको घर 

तिमीभित्र पनि मान्छेको मुटु छ भने
मुटुभित्र जीवनको ढुक्ढुकी छ भने
आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ
आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर
तैपनि मसँग
तिनको आलो रगतको कुन्ड छ
यो तिनकै चिनो हो तिमीले लैजाऊ
मसँग तिनको रातो चेतनाको पुण्ज छ
यो तिनकै नासो हो तिमीले लैजाऊ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर ।

तिमीसँग पनि मान्छेको मन छ भने
मनभित्र आगो र जलन छ भने
आऊ, एकचोटि माथि मेलगैरीमा आऊ
आऊ, एकचोटि तिनकै बलिवेदिमा आऊ
र, मेरो छातीमाथि
बर्बरहरुको वीभत्स नाङो नाच हेर
हेर, न्रिशंस जल्लादहरुको टाउको माथि
निर्लज्ज प्रजातन्त्रको ताज हेर
घर घर निहत्या मान्छेको शिकार खेल्ने
नरभक्षी कायरहरुको जङली राज हेर
म त निस्पन्द र निस्पृह सेतु जैसीको घर
म त मूक र अबुझ सेतु जैसीको घर
तैपनि मसँग
तिनकै आलो रगतले कुँदेको
बलिदानको रक्तिम अभिलेख छ हेर
मसँग तिनकै साहसले खोपेको
नौलो इतिहासको स्वर्णिम पृष्‍ठ छ हेर
म त निस्पन्द र निस्पृह सेतु जैसीको घर
म त मूक र अबुझ सेतु जैसीको घर।

यहाँबाट टाढा- टाढा
रगतका टाटाहरु नदेखिए पनि
रक्तमुछेल प्बाङ् र हुकामहरु देखिन्छन्
गोलीले क्षेतविक्षेत काँक्री र चुनवाङहरु देखिन्छन्
आउँदा- जादा बाटाभरि तिमीलाई
चर्को आतङ्क र सन्त्रासहरुका बीच पनि
झरीको घामजस्तै कन्चन
स्यार्पु र कमलदहका स्निग्ध मुस्कानहरु देखिन्छन्
समयको प्रतिकूल धारासित जुध्दै
हावामा नयाँ युगको पहरा दिइरहेका
चाँप र गुराँसका सँग्रामी अभिवादनहरु देखिन्छन्।

तिमीसँग पनि मान्छेको सपना छ भने
सपनाभित्र उज्ज्वल भविस्यको सुन्दर प्रस्तावना छ भने
आऊ, एकचोटि यो कहर काटिरहेको पहरमा आऊ
आऊ, एकचोटि यो स्तब्ध-स्तब्ध र आहत पलमा आऊ
र, तिम्रा संचेतनाहरुको मिठो स्पर्शले
तिनका सुन्दर सपनाहरु झकझकाउ
र, यो क्रान्ति- कुण्जको अनन्त अग्निगर्भमा
तिम्रै मुक्तियात्राको अखन्ड धुनी जगाउ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर
तैपनि मसँग छ
सिस्ने र जलजलाका शिखरहरु अङ्कमाल गर्ने रहर
म त सेतु जैसीको ऐतिहासिक घर
आलो रगतले कुँदेको
म त पूज्य शहीदहरुको पवित्र स्‍मृतिस्थल। 

५) आइती 

परेला रुझेको तिम्रा आँखामा
असीम पीडा छैन
यो पनि म भन्दिनँ
पीरले भक्कानिएको तिम्रो मुटुमा
असह्रय वेदना छैन
यो पनि म भन्दिनँ
पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती
तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ
आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको छ
तिम्रो रहर खोसिएको छ/तिम्रो खुसी खोसिएको छ
मालीबिनाको फूलबारीमा मैलोजस्तै एक्ली छौ, आइती
आज तिम्रो उमेरको जोली खोसिएको छ ।

पहराको निर्जन फूलजस्तो तिम्रो जीवनमा
विपत्‌को पहिरो गएको छैन
यो पनि म भन्दिनँ
विरहले जलेको व्यथित तिम्रो ह्दयमा
सन्तापको वज्र परेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो जीवनै उजाडिएजत्तिकै उदास छु म पनि
आइती, तिमी नै भन तर रोएर के हुन्छ ?
रहरहरू जलेर खाग भएझैँ बेहाल तिम्रो छातीमा
घात–प्रतिघातको हुन्डरी चलेको छैन
यो पनि म भन्दिनँ
मन भरङ्गिएको शोकसन्तप्त आलो यौवनमा
विषादको हुरी बहेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो संसारै बिरानिएजत्तिकै विह्रवल छु म पनि
आइती, तिमी नै भन तर पीर गरेर के हुन्छ ?

यो वर्ष
बाँधेर आँसुले हितको मायालाई
 ऊ जाने बाटो छेकेकी थियौ तिमी
साहूको पेचले रन्थनिएको खसमलाई
अँगालोको छाँदले बेरेकी थियौ तिमी
गरेर छियाछिया विदीर्ण मुटुलाई
ऊसँग दसबिन्ती हात जोडेकी थियौ, तिमी
तर, तिम्रो शिरको स्वामी
विवशताको चोट र मर्दको इखले
जाल फाँडेर मुक्ताकाशमा उडेको पन्छी झैँ
वेग हान्दै लाहुर गएको थियो
निष्ठुरीजस्तै तिम्रो हितको परानी
तिमीलाई छाडेर दूर कतै भाउन्निएको थियो।

जस्तो कि
सानैमा टुहुरा हुने
यस देशमा असङ्ख्य नाबालक छन्/तिनलाई हेर
बैँसमा अबलाको जिन्दगी गुजार्ने
तिमीजस्तै हजार न हजार विधवा छन्/तिनलाई हेर
आर्जन खान नपाउँदै तन्नेरी छोराको
निःसन्तान भईमर्ने
पितृजस्तै वृद्ध मातापिता छन्/तिनलाई हेर
के पाए र तिनले पनि तिमीले जस्तै ती लाहुरेबाट
दसधारा आँसुको भाराबाहेक
के छ र तिनीहरूसँग पनि तिम्रो जस्तै
कष्ट, क्लेश र पीडाबाहेक
आइती, दुःखको भारी र चिन्ताबाहेक ।

यसरी, ती जो लाहुर गएर
अर्कैको मुलुकमा पसिना बगाउने गर्छन्
तिनको पसिनाले खडेरीमा
आफ्नै घरको एक बित्ता बारी भिजे कति हुन्छ
ती जो अर्कैका लागि
नाहकमै लडेर व्यर्थैमा मर्ने गर्छन्
तिनको रगतले आफ्नै देशका
बन्जर, मरु र टार रातै पारी सिँचे कति हुन्छ
आइती, अब त मुख फोरेर बोलिदेऊ
पराईको लाखमा घिनले बाँच्नुभन्दा
आमाको काखमा हाँसी–हाँसी मर्न सिके कति हुन्छ ।


६) इतिहासको यस घडिमा

यस बेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यस बेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जम्लाहात जोडिरहेछन्
म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु
यस बेला केही थकित पाइलाहरू गलेर
माझ–बिसौनीमै वास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु
यस बेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।

व्यथित देशकोचिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक ।
यस बेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधीबेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस सङ्क्रमणशील घडीमा
भोको पेटका ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न ।


७) जेल 

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र ?
मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र ?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नुपरे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्काे आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र ?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नुपरे पनि त्यो जेल हुन्छ

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभंग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनुपरे पनि त्यो जेल हुन्छ।


८) हामी विश्वस्त छौ 

बदलिंदै गरेको मलीन दिनजस्तै
उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला
भलै तिमी जीवनलाई निस्सारमय ठान
तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन
तिमी पनि धर्तीलाई स्वर्णिम पार्न
कम्मर कसौंला भनेर हामी विश्वस्त छौं
ग्रहले छोएका निस्तेज सूर्य र चन्दैजस्तै
उराठ–उराठ र विरक्त भएको छोटो बेला
भलै तिमी चारैतिर धमिलो र अँध्यारोमात्र देख
तर हृदयभरिका बहलाई
उन्मुक्त हाँसोमा फेर्न सकेको दिन
तिमी पनि जिन्दगीको उज्जवल पार्न
तेजिलो साल बोकौला भनेर हामी विश्वस्त छौं
त्यसैले छातीभरि उम्रेर आएको खपिनसक्नु रहरले
चारैतिर गीत सुसाइरहेको बेला
तिम्रो गीत गाउने धोकोको तलतल मेट्न
कुत्कुताइदेला भनेर हामी विश्वस्त छौं
शुभ–सन्देश बोकी आएका दूतजस्तै
यी समयका पहाडहरुमा
यो मन फुक्का र चङ्गा भइरहेको बेला
तिम्रो गीत पनि मुक्तकण्ठले
गुञ्जिरहला भनेर हामी विश्वस्त छौं


९) हातलाग्यो शुन्य‌

बूढी आमाको गन्गन् झन् बढेर गएको छ
बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ
घरका डाँडाभाटाहरु मक्केर गलेका छन्
खरको चुहुने छानो झन् तारामण्डल भएको छ
साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन्
निरुपाय भाइ सधैँ मेरै मुख ताक्छ
यो घर शान्तिको निकुञ्ज हो या अशान्तिको थलो ?
म अघोर पीडाले झोक्रेर चुपचाप सोचिरहेछु ।

वर्षदिनपघि
आमाका धमिला आँखामा पनि सपनाको उज्यालो चहक थियो
बाबुको रुग्ण देहमा पनि ताजा रक्तसञ्चार भएथ्यो
भाइ आशाको पुरानो तान चलाएर
विश्वासको नयाँ सपना बन्थ्यो
विपना तीतो थियो
तैपनि सपना मीठो थियो
झनै मीठो कल्पनाको यान चढेर
घरले जेनतेन गुज्रान गरेकै थियो
तर आज यो के भयो ?

भोको कुकुर आकाशतिर फर्केर रुन्छ
नानीहरु चाचा र खाजा भन्छन्
उदास घरले औडाहाको सुस्केरा फाल्छ
जहानहरु बातैपिच्छे रिसको नरसिङ्घा बजाउँछन्
मर्नु पनि गाह्रो
बाँच्नु पनि अप्ठ्यारो
जीवन सुखको मालसिरी गीत हो
या दुःखको करुण चित्कार ?
म असीम बेदनामा अथाह डुबिरहेछु ।

खोइ के फेरियो र आज गाउँघरमा
गरिबीले ढाड कुप्रिएकै छ
महंगीको पहाड चुलिएकै छ
अभावको भड्खारो गहिरिँदै गएर
टुप्पी–टुप्पीसम्म मान्छे पुरिएकै छ
न मन रुन छाड्यो
न जीवन दुख्न छाड्यो
साहूले भाका नाघेको र पुरानो तमसुक फेरे पनि
असामीका गलाहरु पहिलेझैं रेटिएकै छ ।

घर हेर्छु घर रित्तै छ
देश हेर्छु देश रित्तै छ
कसरी भनूँ आमा, सधैँको गन्गन् छोड्नुस्
कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस्
चारैतिर हेर्छु हात लाग्यो शून्य !
मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ
यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ?
म छली इतिहाससित बारम्बार सोधिरहेछु ।


१०) तिमी 

तिमी शिखरमा आफैं पुग, नपुग
हिंड्न तिमी कहिल्यै नछाड्नु
जत्रै बाधाका पहाडहरु तेर्सिउन्
तिमीले पाइला भने आफ्ना नरोक्नु
बाटो अप्ठ्यारो छ, पहिराहरु जालान्
थकाई लाग्ला, मन धमिरिएला
तर तिमी कहिल्यै नडगमगाउनु
शुभमुहूर्तमा मंगलमय साइत सारेर
अविचल मन्जिलतिर बढीरहेका हे यात्री
पन्छाउँदै काँडा र सम्याउँदै ढिस्काहरु
तिमी यही बाटैबाटो हिँड्नु ।


११) तिम्रो र हाम्रो संसार 

बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
जसरी बिहान र साँझमा फरक छ
जसरी दिन र रातमा फरक छ
जसरी उज्यालो र अँध्यारोमा फरक छ
सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार
र दु:खले भरिएको हाम्रो गरीबीको संसार
धेरै-धेरै फरक छ
तिमी जन्मँदै
फूलको शैय्यामा जन्म्यौ
हामी काँडामा
तिम्रो भागमा जन्मँदै
मखमलको डसना पर्‍यो
हाम्रो भागमा फाटेको थाङ्ना
तिम्रो भागमा सुनको थाली पर्‍यो
हाम्रो भागमा रित्तो हात खाली
बिल्कुल फरक छ
तिम्रो वैभव र हाम्रो विपन्नताको संसार
धेरै-धेरै फरक छ
कुन त्यस्तो ठाउँ छ
कुन त्यस्तो गाउँ छ
कुन त्यस्तो देश
र, कुन त्यस्तो महादेश
जहाँ तिम्रो र हाम्रो संसार छुट्टीएको छैन
तिम्रो र हाम्रो बीचमा
जहाँ विभेद र विभाजनको रेखा कोरिएको छैन
तिम्रो र हाम्रो वर्ग छुट्टीएको छैन ?
व्यवहार छुट्टीएको छैन ?
जीवन/दर्शन र विचार छुट्टीएको छैन ?
बिल्कुल फरक छ
तिम्रो र हाम्रो वर्गिय संसारमा
धेरै-धेरै फरक छ
हाम्रै भागमा छ
भोक र अकालको प्रकोप
हाम्रै भागमा छ
शोक र अभावको प्रकोप
वर्षाबाढीरोग र महामारीको प्रकोप
हाम्रै भागमा छ
तिम्रो संसारमा बिहान सुरु हुँदा
हाम्रो संसारमा साँझ पर्छ
तिम्रो संसारमा दिन सुरु हुँदा
हाम्रो संसारमा रात पर्छ
तिम्रो संसार जति जति उज्यालो हुन्छ
हाम्रो संसारमा त्यती त्यती अँध्यारो बन्छ
तिमी पश्चिम हामी पूर्व
तिमी दक्षिण हामी उत्तर
ठीक विपरित छौं हामी
तिम्रो र हाम्रो संसार कसरी एकजुट हुन्छ ?
तिमी सुन / हामी फलाम
तिमी हिरा / हामी पत्थर
तिमी राजा / हामी रंक
तिमी सडक / हामी गल्ली
तिमी महल / हामी छाप्रो
तिम्रो भागमा लुटको स्वर्ग
हाम्रो भागमा श्रमको नर्क
बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
र, हाम्रो विचार पनि धेरै धेरै फरक छ
हामी सबथोक फेर्न चाहन्छौ
हाम्रो दु:ख / हाम्रो दुर्भाग्य / हाम्रो दुर्दिन
तिमी सबथोक जोगाउन चाहन्छौ
तिम्रो सुख / तिम्रो सम्रिद्धी / हाम्रो दुर्दिन
र, त बिल्कुल फरक छ
तिम्रो र हाम्रो सोच
तिम्रो र हाम्रो स्वार्थ
तिम्रो र हाम्रो सिङगो संसारमा
धेरै-धेरै फरक छ
आकाश र पातालमा जस्तै
र, असम्भव छ हाम्रो मेल हुन
सिर्फ संघर्ष सिवाय
जो तिमीलाई जत्तिकै हामीलाई पनि सहज स्विकार्य छ
र, एक दिन अपरिहार्य पनि ।


१२) प्रिय सखा 

ए, मेरो प्रिय सखा !
जीवनसङ्ग्रामको यस दौरानमा
एकै यात्राका सहयात्री हामी
अहिले हाम्रो साथ तिमी नरहे पनि
मुक्तिका लागि विश्वभर लडिरहेका
योद्धाहरूको वीरतापूर्ण कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
न्यायका लागि संसारभर लडिरहेका
जनताको गौरवशाली कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
धरतीभरका जुझारू पुस्ताहरूको
अजेय सङ्घर्ष र विजयका गाथाहरूमा
एउटा भव्य अमरगाथा तिम्रो पनि थपिनेछ
देशभित्र
कतै कुनै कुनाबाट
एउटा आवाज उठे
इन्क्लाबको
त्यो गर्बिलो आवाज तिम्रै आवाज हुनेछ
देशभित्र
कतै कुनै ठाउँबाट
एउटा हात उठे सङ्घषएको
त्यो जोशिलो हात तिम्रै हात हुनेछ
देशभित्र
कतै कुनै दिशाबाट
एउटा हुँकार छुटे विद्रोहको
त्यो प्रचन्ड हुँकार तिम्रै हुँकार हुनेछ
मुक्तियुद्धमा
फलामे किल्ला तोड्ने वीर योद्धाहरूकै अग्रिम पङ्क्तिमा
ए मेरो प्रिय सखा ¤
तिम्रो पनि एउटा अग्रासन हुनेछ
तिम्रो पनि एउटा उच्चासन हुनेछ
जहाँ पनि र जहिले पनि
शान्तिका लागि अशान्तिका विरूद्ध
हलचल हुने ठाउँहरूमा
सबभन्दा पहिले
शीर उठाएर लड्ने
न्यायप्रेमीहरूका अग्रणी तिमी नै हुनेछौँ
हरेक जुलुशमा कसिएका दरा मुट्ठीहरू
तिम्रै मुट्ठीहरू हुनेछन्
हरेक युगमा गोली थाप्ने ढालजस्तै चौडा छातीहरू
तिम्रै छातीहरू हुनेछन्
जहाँ पनि र जहिले पनि
अज्ञान, अन्यौल र अन्धकारका बीच
अलमल्ल हुने मनहरूमा
झलमल्ल ज्योति बन्ने प्रकाशपुञ्ज
तिमी नै हुनेछौँ
एक दिन
यस्तै अन्यौलको सघन कुहिरोलाई चिरेर
जब देशले आफ्नो
लामो निद्राको मौन अन्तराललाई च्यातिरहेको थियो
तिनै सुषुप्त जागरणका घडीहरूमा
मैले दीनदुःखीका आर्तपीडाहरूमा पोख्न सिकेँ
त्यसबेला तिमीले भनेथ्यौँ— “लेख्नुछ, सधै देशका कविताहरू लेख
लेख्नुछ सधै जनताका कविताहरू लेख”
तर, ए मेरो प्रिय सखा ¤
यो कस्तो क्रूर विडम्बना हो ¤
आज मैले त्यसको सट्टा
शोकमा डुबेर
तिम्रै शोकगाथा लेखिरहेछु ¤
युगको आँधीले
जडताको कालो अन्धकारलाई सोहोरेर
जब देशलाई नै बढारिरहेको थियो
यस्तै हलचलका उत्सुक बेलाहरूमा
मैले गीत गाउन सिकेँ
मेरा ती गीतहरूमा
मैले जनताका भावी जीतहरू सुनाउन सिकेँ
त्यसबेला तिमीले रमाइ भनेथ्यौ
“गाउनुछ, सधै मुक्तिका गीतहरू गाऊ”
तर ए मेरो प्रिय सखा ¤
यो कस्तो विसङ्गतिको करूण दुर्घटना हो ¤
आज मैले त्यसको सट्टा
शोकमा डुबेर
तिम्रै शोकगीत गाइरहेछु
अग्घोर पीडा र खिन्न मनको क्षणिक निराशाको यस घडी
म आफैलाई आफ्ना सान्त्वनाका शब्दहरूले
सानो नानीलाई प्यारी आमाले जस्तो सुम्सुम्याइरहेछु
धमिलो भल पसेर सङ्लेको
मूलको निर्मल पानीजस्तै
मैलिएको चित्तलाई
सजल आँशुले धुन खोजेर
म अहिले आफैलाई थुम्थुम्याइरहेछु
तिमीले भनेजस्तै
मेरा ती कविताभन्दा पनि सुन्दर कविता भएर
तिमी अब सर्वोत्तम भावहरूमा हृदयहरूबीच कुदिँनेछौ
यो सुन्दर कविता पढिदिने देश हुनेछ
तिमीले चाहेजस्तै
मेरा ती गीतभन्दा पनि मिठो गीत भएर
तिमी अब मधुरतम लयहरूमा ओठहरू
बीच सुसेलिनेछौ
त्यो मिठो गीत सुनिदिने जनता हुनेछ
गुराँसको थुँगाभन्दा पनि रातो थुँगा भएर
तिमी अब रक्तिम लालीहरूमा सर्वत्र पोतिनेछौ
ती राता थुँगाहरू सिउरिने संसार हुनेछ

(शोकाञ्जली खन्डकाव्यबाट)


Comments

Popular posts from this blog

मार्क्सवाद अध्ययन सामग्री - Study Materials on Marxism

दर्शनशास्त्र दर्शनशास्त्र ·          जगतको विषयवोध गर्ने मानव प्रयास हो । ·          यथार्थलाई बुझ्नका लागी एक साधन हो । ·          जीवन र जगतलाई हेर्ने , बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । ·          यसले प्रकृति , जीवन , समाज र चिन्तनका   चालक एवम् सामान्य नियमहरुको अध्ययन गराएर मानिसको विश्वदृष्टिकोण निर्माण गराउँछ । ·          सिङ्गो जीवन र जगतका सामन्य नियमहरुको अध्ययन गर्ने एक निश्चित पद्धति पनि हो । ·          दर्शन कुनै पनि मानिसले एकैचोटी बनिबनाउ रुपमा प्राप्त गरेको नभएर लामो जीवनयापनका दौरानमा प्राप्त गरेका संश्लेषणात्मक ( synthesis) ज्ञान र अनुभवहरुको निचोड हो । ·          प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सार हो । (- कार्ल मार्क्स) दर्शन अध्ययनको परम्परा ·  ...

Notes Taken From Landreth's and Colander's Book "History of Economic Thought"

Notes Taken From Landreth's and Colander's Book  "History of Economic Thought"

Contents of Marx's famous book Capital (Das Kapital)

Das Kapital, September 14, 1867. Capital: A Critique of Political Economy